विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

विराटनगर, १ फागुन । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । भ्याट बाहेक २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटर क्षेत्रफलभित्रा टर्मिनल भवन बन्ने भएको हो ।

नयाँ बन्ने टर्मिनल भवनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज शिलान्यास गर्नु भएको छ । विराटनगरमा बन्ने टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनु भयो । उहाँका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरमा छ । विराटनगर विमानस्थलको धावन मार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो । तर, बजेट अभावमा अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा भयो ।

विमानस्थल विस्तारको योजना तत्काल अघि नबढेपनि टर्मिनल भवन भने नयाँ निर्माण हुने भएको हो । आगामी ३ वर्षभित्रमा बनाइसक्नुपर्ने टर्मिनल भवन निर्माणको ठेक्का केसी डाँफे जेभीले पाएको छ । यसअघि २०२५ सालमा विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण भएको थियो ।

पुरानो टर्मिनल भवन भएको स्थानमा भने पार्किङस्थल बनाइने भएको छ । विमानस्थलको टर्मिनल भवन प्रदेश १ को विकासमा कोशेढुंगा सावित हुने मन्त्री राईले बताउनु भयो । ठेकेदारलाई समयमा नै काम सम्पन्न गर्न उहाँको निर्देशन छ । यस्तै विराटनगर विमानस्थलको धावन मार्ग पनि विस्तार गरिने भएको छ । प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार धावन मार्ग थप २ सय ७० मिटर विस्तार गरिने छ ।

विमानस्थलको धावन मार्ग हाल एक हजार ५ सय मिटर लम्बाईको छ । ठूला जहाजलाई सहज रुपमा उडान अवतरणका लागि धावन मार्ग विस्तार गर्न लागिएको विराटनगर विमानस्थलका प्रमुख रिञ्जी शेर्पाले बताउनु भयो ।