बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघको पहल

विराटनगर २९ माघ । बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघ निरन्तर रुपमा पहल गर्दै आएको छ । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष आज विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गर्नुभएको छ ।

संघका अध्यक्ष रिजाल सहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले अर्थ मन्त्री पौडेललाई भेट गर्दै बैंकहरुको उच्च प्रिमियम दरका कारण बैंक व्याज दर चर्काे हुन गएको बताउनु भएको छ । उहाँहरुले बढीमा १ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था ल्याउन अनुरोध गर्नुभएको छ । बैंकहरुले पछिल्लो अवस्थामा बैंकिङ शुल्कहरु अचाक्ली रुपले बढाएकोले त्यसलाई समेत न्यून गराउन निर्देशन दिन अर्थमन्त्री समक्ष अनुरोध गरिएको मोरङ व्यापार संघका अध्यक्ष रिजालले बताउनुभयो । उहाँले विगतका पहलहरुबाट नेपाल राष्ट्र बैंक र बैंकहरुले निक्षेप लगायतका व्याजहरुमा केहि लचकता अपनाएको बताउनुभयो । उहाँले ऋणीहरुको व्याज दर घटाउने कार्य चाहीँ भई नसकेको जिकिर गर्नुभयो ।

अर्थ मन्त्री पौडेलले विद्यमान निजी क्षेत्रका उद्योगी÷व्यवसायीहरुको पछिल्लो खस्कँदो अवस्थालाई ध्यानमा राखी नेपाल राष्ट्र बैंकले केही लचक नियमहरु क्रमिक रुपमा ल्याइरहेको बताउनुभयो ।