विराटनगर २७ पुस । करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ ।
सभामा आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ । चालु आर्थिक वर्षको पुस २४ गतेसम्म १ अर्ब २ करोड ५ लाख ५८ हजार २ सय ८५ रुपैयाँ मात्रै यथार्थ आय भएको उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । सो आयमध्ये संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ६१ करोड ८२ लाख ८५ हजार १ सय १० रुपैयाँ प्राप्त भएको उपप्रमुख कार्कीले बताउनुभयो ।
यसैगरी प्रदेश सरकार वित्तीय हस्तान्तरणतर्फबाट २ करोड ९ लाख ६० हजार ४ सय २० रुपैयाँ, बाँडफाँडबाट प्राप्त हुने राजस्वतर्फ १३ करोड ३५ लाख ५४ हजार ६ सय ७० रुपैयाँ, अन्य संघसंस्थातर्फ ८ लाख ५७ हजार ८ सय ५ रुपैयाँ आय प्राप्त भएको उपप्रमुख कार्कीले प्रस्तुत गरेको आय–व्यय वितरणमा जनाइएको छ । प्रतिवेदनअनुसार जनसहभागिताबाट १ करोड ५५ लाख ४६ हजार १ सय ७१ रुपैयाँ मात्रै यथार्थ आए भएको छ । त्यसैगरी चालु आवका लागि ३ अर्ब ७३ करोड ७५ लाख ६७ हजार कुल व्यय अनुमान गरिएकोमा पुस २४ गतेसम्म यथार्थ कुल व्यय ९४ करोड ७७ लाख ३१ हजार २ सय ९२ रुपैयाँ भएको छ । जसमध्ये पुँजीगत खर्चतर्फ ३४ करोड ४३ लाख ९५ हजार ७ सय ३८ रुपैयाँ भएको छ भने प्रशासनिक एवं चालुतर्फ ५७ करोड ८१ लाख ७६ हजार १ सय २२ रुपैयाँ भएको उपप्रमुख कार्कीले बताउनुभयो ।
वित्तीय खर्चतर्फ २ करोड ५१ लाख ५९ हजार ४ सय ३२ रुपैयाँ भएको छ । चालु आवको पुस २४ गतेसम्म आन्तरिक आम्दानी २३ करोड १३ लाख भएको छ । यस्तै ८७ करोड आन्तरिक आम्दानी अनुमान गरिएकोमा सोलाई वृद्धि १ अर्ब २ करोड आम्दानी गर्ने लक्ष्य राखिएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो । सभालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले आन्तरिक आम्दानी बलियो नबनाएसम्म विराटनगरवासीको विकास र सृमद्धिको चाहना पूरा गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले आन्तरिक आम्दानी बढाउनका लागि कर संकलन अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो । विराटनगरकोे गुमेको शाखलाई फर्काएरै छाड्ने कोइरालाले उद्घोष गर्नुभयो ।
सबैको सामूहिक प्रयासले महानगरवासीले खोजेको जस्तो व्यवस्थित महानगर बन्ने कोइरालाले बताउनुभयो । उहाँले सरसफाई, फुटपाथ नियन्त्रण, पार्किङ व्यवस्थापनसँगै आन्तरिक प्रशासन सुधारसँगै सुशासन, पादरसर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाउनुभयो ।