विराटनगर ६ पुस । मोरङमा मानवअधिकार उलंघनका २ सय ६५ वटा घटना भएको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार विराटनगरमा आयोजना गरेको वर्ष पुस्तक २०२३ को बार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि विनोद सुवेदीले सो जानकारी दिएका हुन । गत जनवरी १ देखि नोभेम्बर सम्मको अवधिमा २ सय ६५ वटा मानवअधिकार उलंघनका घटना अभिलेखीकरण भएको सुवेदीले बताए ।
मानवअधिकार उलंघनका २ सय ६५ वटा घटनामा २ सय ६८ जना पीडित बनेका छन् । मोरङमा सबै भदा बढी बलात्कारका घटना भएका छन् । ११ महिनाको अवधिमा ७९ वटा बलात्कारका घटना भएका हुन् । यस्तै घरेलु हिंसाका ७८ वटा घटना भएका छन् । १८ वटा हत्याका घटना भएका छन । अपहरण ६, बालयौन दुव्र्यवहारका १६, बानव वेचविखनका ४ , वोक्सी आरोप २ , बालविवाहका ४ वटा घटना भएका छन् । यस्तै बलात्कार प्रयासका १९, हत्या प्रयासका २४ वटा घटना भएको पाइएको छ ।
बर्ष पुस्तक प्रकाशन पूर्व सरोकारवालाहरुवीच इन्सेकले अभिलेखीकरण गरेका घटनाहरु सार्वजनिक गर्ने र उनीहरुको सुझाव लिएर घटनाहरुलाई पूर्णरुप दिने गरिएको इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले बताए । उनका अनुसार मोरङको बुधबार कार्यक्रम गरिएसँगै १४ वटै जिल्लाको समीक्षा सकिएको उनले बताए । जिल्लाको बार्षिक समीक्षा पछि जिल्ला प्रतिनिधिहरुवीच घटनाको सम्पादन गरिने गरिएको उनको भनाई छ । प्रतिनिधिले अभिलेख गरेका घटनाहरु सम्पादन गरेर पुस्तकमा समावेश गरिने थापाले बताए । उनका अनुसार जिल्ला प्रतिनिधिहरुको सम्पादन भेला विहीबार र शुक्रबार विराटनगरमा हुँदैछ ।