विराटनगर, २५ चैत । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मोरङको रंगेलीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे टेलिभिजन संवाद गरेको छ । स्थानिय तहलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सजग बनाउने उद्देश्यले मकालु टेलिभिजनको सहकार्यमा मानवअधिकार समूह रंगेली र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको संयुक्त आयोजनामा सरोकारवालासँग संवाद गरिएको हो ।
कार्यक्रममा नगरपालिकाका सम्बन्धित शाखा प्रमुखहरूले नगरपालिकाले ५ वर्षको अवधिमा जनताको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित गर्न गरेका कामहरूबारे जानकारी दिएका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्री जयराम यादवले रंगेली अस्पतालका लागि आबश्यक डाक्टर र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो । उहाँले रंगेलीका जनताले रंगेली अस्पताल अनुगमनमा नआएको गुनासो सहि भएको भन्दै आफ्नो अधिकारको क्षेत्र नभएकाले रंगेली अस्पतालको अनुगमनमा नआएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘ हाम्रलागि सबै अस्पताल समान भएपनि कानुनी रुपमा रंगेली अस्पताल स्थानिय तह मातहतको अस्पताल भएकाले प्रदेशको मन्त्रीले अनुगमन गर्नुको औचित्य हुँदैन ।’ मन्त्री यादवले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार मौलिक अधिकारहरू पनि भएकाले जनताका यी अधिकार सुनिश्चित गर्न सरकार सँधै प्रयासरत रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवालले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न नगरपालिका एक्लैले नसक्ने भएकाले शिक्षक अभिभावकसमेत जागरुक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाले नगरका सबै विद्यालयको शैक्षिम गुणस्तर सुधार गर्न योजनाबद्ध रुपमा प्रयासहरू गरिरहेको बताउनुभयो ।
अग्रवालले तर, शैक्षिक गुणस्तर, विद्यालयको भौतिक पूर्वाधार सुधारलगायतका काम गर्न स्थानिय अभिभावकको सहयोगको जरुरी रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, शैक्षिक गुणस्तर कायम भएन भन्ने तर, विद्यालयका कम्प्युटर चोर्ने, विद्यालयमा गरिएका वाइङिका तारहरू चोर्ने विद्यालयका तोडफोड गर्ने जस्ता गतिविधिले विद्यालयको अवस्थामा सुधार आउँदैन । ’ मेयर अग्रवालले नगरका सबै स्वास्थ्य संस्थाको पूर्वाधार सुधारमा नगरपालिकाले ध्यान केन्द्रित गरेको जानकारी दिनुभयो । उहाँले रंगेलीको एकमात्र अस्पताल रंगेली अस्पतालबाट सहज रुपमा सेवा उपलब्ध गराउन नगरपालिका प्रयत्नशिल रहेको र नगरपालिकाले धेरैलगानी पनि गरेको बताउनुभयो । उहाँले रंगेली अस्पतालमा डाक्टर, नर्सलगायतका प्राविधिक कर्मचारीहरूको अभाव रहेकाले अस्पतालका लागि आबश्यक उपकरण, र जनशक्ती उपलब्ध गराइदिन प्रदेश र संघीय सरकारसँग आग्रह पनि गर्नुभयो ।
कार्यक्रमा इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले जनाताको शिक्षा स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित गर्न स्थानिय सरकार र प्रदेश सरकारलाई झकझक्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका सम्बन्धीत शाखाका प्रमुखहरू शिक्षा शाखा प्रमुख रविन्द्र पण्डीत, स्वास्थ्य शाखा प्रमुख प्रवेश मेहेता, कृषि शाखा प्रमुख विरेन्द्र मण्डल, पशु शाखा प्रमुख दीपक खतिवडा र योजना शाखा प्रमुख कृष्ण भट्टराईले नगरपालिकाले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित गर्नका लागि नगरमा सञ्चालन गरेका कर्याक्रमहरू र प्रयासहरूबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा स्थानिय प्रवेश पन्नालाल मेहेता, कैलाश प्रसाद मण्डल, रामकुमार सरदार लगायतले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित नभएको विषयमा प्रदेशका स्वास्थ्य मन्त्री र नगरापलिकाका प्रमुख तथा उपप्रमुखलाई विभिन्न प्रश्न गर्नुभएको थियो । कार्यक्रममा रंगेली नगरपालिकाका स्थानियले नगर, प्रमुख, उपप्रमुख र प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवलाई स्वास्थ्य, शिक्षा र खाद्य अधिकारका विषयमा विभिन्न जिज्ञासाहरू राखेको थिए ।
कार्यक्रमको अध्यक्षता मानवअधिकार समूह रंगेलीकी अध्यक्ष उषा झाले गर्नुभएको थियो । इन्सेकले विगत ३ वर्ष देखि रंगेली नगरपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जनचेतना अभिबृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।