विराटनगर, ४ पुस । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचाबाट गयराति २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङ रहेका छन् । उनीहरुले सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिकालाई बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार दुवै बालिका १४ वर्षका छन् । विद्यालय जान भनेर यही पुस १ गते शुक्रबार घरबाट हिँडेका बालिकालाई ललाईफकाई होटलमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुन्दरहरैँचा–७ बेलगाछीमा रहेको होटल दरबार इनको दोस्रो तलाको अलगअलग कोठामा रातभर राखेर बालिकालाई बलात्कार गरेको डीएसपी श्रेष्ठले बताउनु भयो ।
पढ्नलाई विद्यालय गएका बालिका भोलिपल्ट अर्थात शनिबार बिहान मात्रै घर फर्किएका थिए । सोधीखोजी गर्दा आफूहरु बलात्कृत भएको जानकारी गराएपछि घटना बाहिर आएको डीएसपी श्रेष्ठको भनाइ छ । उहाँका अनुसार पीडितका अभिभावकले हिजो साँझ दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले तिम्सिना र तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाको मतियारका रूपमा सुन्दरहरैँचा–५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैँचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुले तिम्सिना र तामाङसँग बालिकाको भेट गराएको तथा होटल मिलाइदिने काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बलात्कारमा संलग्नविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।