विराटनगर, २९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । आजदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा औद्यौगीकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो । विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उहाँले रानी–किमाथांका सडकले विराटनगर भारत र चीनसँग सोझै जोड्ने छ । उहाँले औद्योगिक कच्चा पदार्थका लागि आयातमै निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले उद्योगलाई चाहिने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्न किसान र उद्योगीबीच समन्वय आवश्यक रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक विगतमा भन्दा फरक खालको आर्थिक मन्दीबाट गुज्री रहेको बताउनुभयो । उहाँले विगतमा भूकम्प, कोरोना र नाकाबन्दीले अर्थतन्त्रमा बाहिरबाट समस्या देखिएको भए पनि यतिबेला सरकार र राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रभित्रै समस्या देखिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले देशका लागि निर्यात वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योग चाहिएको बताउनुभयो । प्याकुरेलले कोभिडपछिको मन्दीले सबै उद्योग प्रभावित भएकाले समग्र अर्थतन्त्रमा नै समस्या देखिन थालेको स्पष्ट पार्नुभयोे । प्याकुरेलले विराटनगर–बथनाहा रेल्वे तयार भए पनि सञ्चालनमा सरकारले बेवास्था गरेको गुनासो गर्नुभयोे । जसका कारण सडक मार्गबाट सामान आयात गर्नु परिरहेकाले औद्योगिक कच्चा पदार्थको ढुवानीमा मात्रै ३० प्रतिशतभन्दा बढी लागत बढी लागी रहेको उहाँको भनाई छ । उहाँले यथाशीघ्र विराटनगरसम्म निर्माण भइसकेको रेलमार्ग सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभयोे ।
कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री राजेन्द्र राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायतले एक्स्पोको सफलताको शुभकामना दिएका थिए । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा उद्योग संगठन मोरङको आयोजना गरेको एक्स्पो पुस ६ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ३ सय ६१ स्टल रहेका छन् ।