विराटनगर २३ मंसिर । मोरङ कटहरी गाउँपालिका १ को वडा कार्यालय भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ । ७२ लाख बढीमा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र कटहरी १ का वडाध्यक्ष हरिनारायण राजवंशीले भवनको शिलान्यास गर्नुभयो । एक कट्ठा जग्गामा निर्माण हुन लागेको भवनको ठेक्का विराटनगर ८ को टोनिका कन्सट्रक्सनले पाएको छ । भवन निर्माणको स्टिमेट रकम १ करोड १८ लाख रहेपनि निर्माण कम्पनीले ३७.११ प्रतिशत कम ७२ लाख २० हजार ३ सय ८६ रुपैयामा निर्माणको ठेक्का लिएको छ । २१ सय स्क्वायर फिटको सो भवनमा ३ कोठा १ हल र शौचालय कोठा निर्माण हुने जनाईएको छ । आगामी जेठ १५ अर्थात ७ महिना भित्र भवनको निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्यले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष चौधरीले कटहरीमा रहेका ७ वडा वडा मध्ये वडानम्बर १ र ६ बाहेक सबै वडाहरुको आफ्नै भवन निर्माण भईसकेको बताउनुभयो । वडानम्बर १ मा छिट्टै भवन निर्माण सम्पन्न हुने र ६ नम्बर वडा कार्यालयकालागि जग्गा प्राप्तिको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । वडानम्बर १ का वडाध्यक्ष राजवंशीले नयाँ कार्यालय भवन निर्माण भएपछि कर्मचारीलाई सेवा प्रवाहगर्न सेवाग्राहीलाई सेवा लिन सहज हुने बताउनुभयो ।
आफ्नै भवन नहुँदा कटहरी महेशपुरमा रहेको गणेश आधारभुत विद्यालय परिसरमा वडा कार्यालय संचालन हुँदै आएको थियो ।