मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि सौन्दर्यकर्मीहरुसँग अन्तरक्रिया

विराटनगर १० मंसिर । माईती नेपाल विराटनगरले मानव बेचविखन तथा ओसारपसार र लैङ्कि हिंसा नियन्त्रणका लागि सीमा क्षेत्रका सौन्दर्यकर्मीहरुसँग आज एक दिने अभिमुखीकरण गरेको छ ।

नेपालवाट वाहिर वालिका तथा महिलाहरुलाई विभिन्न प्रलोभन देखाई लानेक्रममा एउटा प्रतिक्षालयको रुपमा व्युटिपार्लरलाई प्रयोगमा रुपमा लिने गरेको पाईएपछि माईती नेपालले पार्लर सञ्चालकहरुलाई एक दिने कानुनी विषयमा अभिमुखीकरण गरेको कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार वोर्डर नजिकै रहेको व्यूटि पार्लरहरुमा गाडी, टे«न नआउन्जेल, लिएर जाने साथीलाई पर्खी, सौन्दर्यकर्मीहरुलाई झुक्याउने नियतले पार्लरमा मेकअप गराउने, कपाल मिलाउने भन्दै बस्ने गरेको विभिन्न अनुसन्धानहरुबाट देखियो ।

सीमा क्षेत्र नजिक रहेका व्यूटिपार्लरहरुका सञ्चालकसंग माइती नेपालको वारेमा जानकारी, मानव वेचविखन विरुद्धको जानकारी र वेचविखन सम्वन्धि विभिन्न जानकारी गराईएको कार्यक्रम संयोजक पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा २० जना सौन्दर्यकर्मीहरुको सहभागिता रहेको माइती नेपालकी गीताञ्जली शर्माले जानकारी दिनुभयो ।