भ्रम र प्रलोभनमा नपर्न एमाले उम्मेदवार घिमिरेको आग्रह

विराटनगर १ मंसिर । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले कुनैपनि भ्रम र प्रलोभनमा नपर्न आम मतदाताहरुलाई आग्रह गर्नु भएको छ ।

आज एक भिडियो सन्देश मार्फत उम्मेदवार घिमिरेले आज मध्यराती देखि खुल्ला प्रचार प्रसार नहुने भएकाले यसवीचमा प्रभाव पार्ने, भ्रम छर्ने कार्य हुने भन्दै कुनैपनि प्रभावमा नपर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो,‘ खुल्ला प्रचार प्रसार बन्द हुँदैछ । मतदातालाई प्रलोभन देखाउने, प्रभावमा पार्ने, भ्रम छर्ने क्रियाकलाप हुने हुँदा कुनैपनि प्रभलोनमा नपर्न आग्रह गर्दछु ।’
क्षेत्र नं. ४ (ख) का उम्मेदवार घिमिरेले निर्वाचन आयोगले निर्धारण गरेको समय अवधि भित्रमा आफुले निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट, घरदैलो, कोणसभा, चुनावी सभा सम्पन्न गरेको बताउनुभयो ।

मंसिर ४ गतेको निर्वाचनका लागि मतदाताहरु म्तदान गर्न उत्साहित भएर बसेको उहाँले बताउनुभयो । मतदाताको उत्साह हेर्दा करिव ७० प्रतिशत मत आफ्नो पक्षमा आउने देखिएको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो,‘ प्रचार प्रसारको अवधिमा मतदाताको अत्यन्तै माया पाएँ ।’ कुनैपनि मतदाताले ५ वर्ष भित्रमा काम गरिनस् भनेनन्, अवसर पाउँदा गर्न सक्ने भनेको तपाईमात्रै देख्यौं भनेर मलाई थप उर्जा दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ ३७ महिना सरकारमा हुँदा मैले गरेको काम र सांसदको भूमिकामा रहँदा मैले गरेका कामबाट मतदाताहरु अत्यन्तै उत्साहित भएको पाएँ ।’

चुनाव प्रचार अवधिमा जुनसुकै उमेर समूहका व्यक्तिहरुले पनि उत्तिकै माया गरेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो,‘ घरदैलोमा पुग्दा बालबालिका, यूवा, जेष्ठ नागरिक सवैले हार्दिकताका साथ माया गर्नुभयो, आर्शिवाद दिनुभयो ।’ हरेक उमेर समूह, हरेक क्षेत्रले देखाएको मायाले उत्साह थपेको घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ मतदाताको मायासँगै आगामी दिनमा गर्नुपर्ने कामको लागि सुझाव पनि पाएको छु, मतदाताको सुझाव अनुसार म अघि बढ्नेछु ।’ उहाँहरुसँग नियमित भेटघाट, सुझाव, सुख दुःखमा सँधै, सँगै रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु उहाँले भन्नुभयो ।