आर्थिक समृद्धि र सुशासनका लागि गठबन्धनले जित्नुपर्छ : प्रचण्ड

विराटनगर, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आर्थिक समृद्धि र सुशासनका लागि गठबन्धनले निर्वाचन जित्नुपर्ने बताउनु भएको छ ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिकाको गछियामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको विकास गठबन्धनबाट मात्रै सम्भव भएको जिकिर गर्नु भयो । फेरि प्रतिगमनविरुद्ध आन्दोलन गर्न नपरोस् भनेर गठबन्धनलाई जिताउनुपर्नेमा उहाँको जोड छ । ‘देशभर सत्तारुढ गठबन्धनको पक्षमा लहर आएको छ । यो गठबन्धन दशकौं पछिसम्म जान्छ,’ उहाँले भन्नु भयो । एमालेबाट मुलुकको विकास सम्भव नहुने र एमालेले मुलुकका लाािग केही पनि गर्न नसक्ने उहाँको दाबी छ । प्रचण्डले शान्ति सम्झौताकै दिन स्वः गिरिजाप्रसाद कोइराला र आफूले एकअर्कालाई प्रतीकात्मक रूपमा भोट हालेको जिकिरसमेत गर्नु भयो ।

शान्ति सम्झौताको हस्ताक्षरकर्ताका रूपमा एकअर्कालाई प्रतीकात्मक मतदान गरेको उहाँको कथन छ । उहाँले निर्वाचनबाट सत्तारुढ गठबन्धन विजयी बनेपछि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने, बूढी र गछिया खोलामा तटबन्ध बनाउने तथा सुकुम्बासी समस्या समाधान गर्ने बताउनु भयो । प्रचण्डले शान्ति सम्झौतामा डा. शेखर कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । शान्ति सम्झौता अघि कोइरालाले आफू र गिरिजाप्रसादबीच छलफल गराउन पुलको भूमिका निर्वाह गरेको उहाँको भनाइ छ ।

सभालाई सम्बोधन गर्दै उहाँले शेखर नभएको भए शान्ति सम्झौता हुने नहुने विषयमा आफूले बेला–बेला सोच्ने गरेको बताउनु भयो । प्रचण्डले शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनभित्र एकअर्कालाई मतदान गर्न पनि अपिल गर्नु भएको छ ।