मोरङ–३ ‘क’मा कांग्रेसका लिम्वुद्धारा मनोनयन दर्ता

विराटनगर, २४ कात्तिक । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ ‘क’को प्रदेशसभा सदस्य पदका लागि नेपाली कांग्रेसले आज मनोयन दर्ता गराएको छ ।

कांग्रेसका तर्फबाट टिकट पाएका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएको कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताउनु भयो । उक्त क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि उहाँको ठाउँमा कांग्रेसले लिम्बूलाई उम्मेदवार बनाएको हो । बेलबारी नगरपालिका–८ का बासिन्दा लिम्बू कांग्रेसको महासमिति सदस्य र तरुण दल मोरङका पूर्वसभापति हुनुहुन्छ । उहाँले नेता, कार्यकर्ता र समर्थकसहित मनोनयनस्थलमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । निधन भएका उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवार तय गरेर मनोनयन दर्ता गराउन निर्वाचन आयोगकले कांग्रेसलाई आज दिउँसो १ बजेसम्मको समय दिएको थियो ।

निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी विरोधलगायत प्रक्रिया पूरा गरेर भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उक्त क्षेत्रबाट यसअघि मनोनयन दर्ता गराएका थापा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्रीसमेत हुनुहुन्थ्यो । डेंगु र निमोनियाको समस्या देखिएका थापाको हिजो बिहान विराटनगरको नोबेल शिक्षण अस्पतालमा निधन भएको हो ।

मोरङको ३ ‘क’मा एमालेका दिलिपकुमार राई (किशोर)सहित ७ जना उम्मेदवार प्रदेशसभा सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा छन् ।