विराटनगर, १९ कात्तिक । नेकपा (एमाले) प्रदेश १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
प्रतिबद्धता पत्र आज विराटनगरमा सार्वजनिक गरिएको हो । पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने लगायतको उपस्थितिमा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । एक नम्बर प्रदेशको वस्तुगत अवस्था र मौलिकतामा आधारित गरेर प्रतिबद्धता सार्वजनिक गरिएको छ । प्रतिबद्धतापत्रमा प्रदेश १ लाई आत्मनिर्भर बनाउने र मुलुकको समृद्धिमा योगदान गर्ने लगायतका विषयहरु प्राथमिकतामा राखिएको प्रदेश कमिटीका अध्यक्ष न्यौपानेले बताए ।
प्रतिवद्धता पत्रमा प्रदेश १ लाई मुलुकमा प्रवेश गर्ने द्वारका रुपमा विकास गर्ने कुरा समावेश गरिएको छ । त्यसका लागि विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने, एसियन हाइवेमार्फत भारत, बंगलादेश, भुटान, चीन, बर्मासँग जोड्ने, हवाई सेवाबाट हङकङ र थाईल्याण्डसँग जोड्ने, किमाथाङ्का–जोगबनी सडक खुलेपछि सामान र मानव आवागमनको क्षेत्र बन्ने सम्भावनाको अधिक्तम उपयोग गर्ने कुरा प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । गरिबीलाई सम्बोधन गर्न विपन्न वर्ग परिचयपत्र वितरण गर्ने, एमालेको सरकारले शुरू गरेका प्रदेश गौरवको आयोजना पूरा गर्नेलगायतका विषयहरु प्नि प्रतिवद्धतापत्रमा समेटिएको छ ।
संघीय राजधानीसँग जोड्ने छोटो जलमार्ग र सडकमात्र खोल्ने, हिमालको उपयोग, छोटो ट्रयाकबाट हिमाल लैजाने, हिमाल चढ्नेहरूका लागि तालिम दिने, माउन्टेनियरिङ इन्स्टिच्युट बनाउने, युवा वर्ग र युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जना गरिनेजस्ता विशेष महत्वका कार्ययोजनाहरू प्रदेशको प्रतिवद्धतापत्रमा समेटिएको छ ।
आज सार्वजनिक प्रतिवद्धतापत्र प्रदेशका आम मतदाताबीच पुर्याइने एमाले प्रदेश १ कमिटीका अध्यक्ष न्यौपानेले बताउनुभयो ।