विराटनगर, १४ कात्तिक । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छुरा प्रहार गरेर बालकको हत्या गरेको आरोपमा प्रहरीले सोमबार दिउँसो ५ जनालाई पक्राउ गरेको छ ।
छठ हेर्न खोलामा पुगेका बेला झापाको दमक नगरपालिका–१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो । हत्यामा संलग्न ५ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरु १८ वर्ष मुनिका छन् । उर्लाबारी–६ र ७ का ५ जना किशोर मिलेर आइतबार राति १०:२५ बजेतिर दियुसलाई छुरा प्रहार गरेको श्रेष्ठले बताए । उनका अनुसार बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार गरिएका दियुसको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा सोमबार बिहान ४:५० बजेतिर मृत्यु भएको हो ।
घटनापछि ५ जना नै फरार बनेका थिए । घटनापछि फरार बनेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त टोलीले उर्लाबारीबाटै पक्राउ गरेको हो । हत्या गरिएका दियुस र हत्यामा संलग्नबीच विगतमा पनि झैझगडा हुने गरेको अनुसन्धानबाट खुलेको छ ।
पुरानो रिसाईबीका कारण दियुसको हत्या भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।