उम्मदेवारलाई १७ कात्तिकदेखि १ मंसिरसम्म जुलुस, आमसभा गर्न आयोगको स्वीकृति

विराटनगर, १४ कात्तिक । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले १७ कात्तिकदेखि १ मंसिरसम्म प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ ।

उम्मेदवारले निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न सक्ने आयोगले बताएको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार–प्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चार माध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आचारसंहिताबमोजिम निर्वाचन प्रचार–प्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्न सकिनेछ । यस्तै, कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्नरगराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचार–प्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेको आयोगले स्मरण गराएको छ ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयन भएरनभएको सम्बन्धमा आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लंघनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउने क्रम जारी रहेको आयोगले बताएको छ । आचारसंहिता प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रह गर्दै आएको छ ।