विराटनगर २९ असोज । विराटनगरका प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ ।
शुक्रबार विराटनगरमा समाजसेवी दिनबन्धु गोयल नागरिक अभिनन्दन समारोह समितिले गोयललाई अभिनन्दन गरेको हो । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा एक दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहेका गोयललाई सम्मान गरिएको हो । सोही अवसरमा विभिन्न क्षेत्रका ३ सयभन्दा बढी संघसंस्थाले समेत सम्मान गरेका छन् ।
गोयललाई अभिनन्दन गर्दै पूर्वराष्ट्रपति यादवले भारतबाट नेपाल आएर नेपाली एकता, सद्भाव र भाइचारामा सकारात्मक सन्देश छाडेको बताउनुभयो । यादवले विराटनगरमा पहाडी, मधेशी, थारु, राजवंशी, मारवाडी समुदायको सद्भाव र भाइचाराले समग्रमा एकताको सन्देश दिएको बताउनुभयो ।
नागरिक अभिनन्दनले आफूलाई थप सामाजिक काम गर्न हौसला मिलेको र आगामी दिनमा यसलाई निरन्तरता दिने गोयलले बताउनुभयो । औद्योगिक क्षेत्रबाट विश्राम लिएर सामाजिक क्षेत्रमा लाग्नु भएका गोयल झन्डै दुई सय सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ ।