आन्तरिक राजस्व अभिवृद्धिका लागि महानगरद्वारा छलफल

विराटनगर, २७ भदौ । आन्तरिक राजस्व वृद्धिका लागि विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ ।

आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति नलिने भन्दै सरोकारवालालाई बोलाएर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले छलफल गरेको हो । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले करको दायरा बढाउनुपर्नेमा जोड दिए । उनले वडास्तरबाटै कर संकलन अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

हिसान मोरङका अध्यक्ष अमित ढकालले विराटनगरका अधिकांशले घर बहाल कर नतिर्ने गरेको बताउनुभयो । उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले विराटनगरमा सम्पत्ति कर धेरै भएको सुनाए । उनले सम्पत्ति कर ठिक्क राख्ने हो भने सबैले तिर्ने उहाँको भनाइ थियो ।

प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले करका विषयमा सबैलाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।

महानगर प्रमुख कोइरालाले आफूहरू जनतालाई दुःख दिने पक्षमा नरहेको बताउनुभयो । उपप्रमुख शिल्पा निराला कार्कीले पनि आन्तरिक आम्दानी नबढाएसम्म सोचेजस्तो विकास नहुने प्रस्ट पार्नुभयो ।