विराटनगर २६ भदौ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने सरोकारवालाहरुले बताएका छन ।
विराटनगरमा महिला जागरण नेपाल, संकल्प नेपाल र महिला गैर सरकारी महासंघले संयुक्त रुपमा आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता विषयक छलफल कार्यक्रमका सहभागिहरुले स्थानिय निकायको निर्वाचनमा राजनीतिक दलहरुको गठबन्धनका कारण महिलाहरुको सहभागिता धेरै कम भएको र आगामी मंसिर ५ गते हुन लागेको निर्वाचनमा पनि गठबन्धनका कारण महिलाहरु लाई ओझेलमा पारिएको गुनासो गरेका छन ।
सो कार्यक्रममा महिलाहरुलाई प्रत्यक्ष तर्फ सिट नदिने गरेको र समानुपातिक तर्फ नाम सिफारीस गर्दा पनि पार्टी भित्र सेटिङ हुने गरेको बताए । उनिहरुले महिलाहरुको नाम सिफारिस गर्दा महिलाहरुलाई सहभागि गराउनुपर्ने तर पुरुषहरुलेनै सिफारिस गरेर पठाउने गरेको आरोप लगाएका छन् ।
नेपालका ठुला भनाउदा दलहरुलेनै महिलालाई आफ्नो पार्टीको छलफल र निर्णयमा उपस्थिति नगराउने गरेको गुनासो गरेका छन । उनिहरुले निर्वाचनमा धेरै खर्च हुने भएकाले पनि महिलाहरु प्रत्यक्ष तर्फ उठ्न नसक्ने बताए ।
कार्यक्रममा सहभागि महिलाहरुले संविधानले दिएको हक अधिकार पाउनको लागि पनि पार्टी भित्रै लड्नुपर्ने गुनासो गरेका छन । सो कार्यक्रममा विभिन्न राजनीतिक दलका महिलाहरुको सहभागिता रहेको थियो ।