महानगर उपप्रमुखको नेतृत्वमा बसपार्क आसपासको सरसफाई

विराटनगर, २५ भदौ । फोहोरको मात्रै बढ्दै गएपछि विराटनगर महानगरपालिकाले नगरका चोक, गल्लीहरुमा सरसफाईको जागरण अभियान शुरु गरेको छ ।

कार्यपालिका बैठकबाटै निर्णय गरेर नगरपालिकाले अभियान शुरुवात गरेको हो । भदौ पहिलो साता महानगरु प्रमुख नागेश कोइरालाले अभियानको शुरुवात गरेका थिए । पहिलो पटक विराटनगर रथयात्रालाई केन्द्रित गरेर सफाई अभियानको थालनी गरिएको थियो ।

महानगरका १९ वटा वडालाई ३ भागमा बर्गिकरण गरेर अभियान चलाईएको छ । उत्तरी क्षेत्र, मध्य क्षेत्र र दक्षिणी क्षेत्र गरेर हरेक साताको शुक्रबार विहान ७ वजेदेखि साढे ८ वजे सम्म अभियान सञ्चालन हुने गरेको महानगरका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताए । अभियान शुरु भएपछि हरेक साता सहभागिता बढ्दै गएको उनले बताए । उनका अनुसार तीन क्षेत्रमा एकै पटक अभियान सञ्चालन गर्ने गरिएको छ । तीनै वटै क्षेत्रमा महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नेतृत्व लिदै आएको प्रधानको भनाई छ । विराटनगर महानगरपालिकामा दैनिक सरदार ७० टन बढी फोहोर निस्कने गरेको उनले बताए । प्रधानले भने,‘ दैनिक ७० देखि ८० टन हाराहारीमा फोहोर निस्कन्छ ।’ चाडपर्वका समय दैनिक झण्डै ९० टन हाराहारीमा पुग्ने गरेको उनको भनाई छ । विराटनगर महानगरपालिकाले सफाई अभियान शुरु गरेपछि विभिन्न क्षेत्रका व्यक्तिहरुको स्वतस्फुर्तमा सहभागिता बढ्दै गएको प्रधानले बताए ।

महानगर उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा विराटनगर बसपार्क क्षेत्रमा शुक्रबार गरिएको सफाई अभियानमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख टंक गौतम लगायतका विभिन्न व्यक्तिहरु सहभागि भएका थिए । प्रमुख जिल्ला अधिकारी दाहाल अभियान शुरु भएदेखि अन्त्य सम्मनै झाडु लिएर सफाई अभियानमा सहभागि भएका थिए । उनले अभियानका कारण नगरलाई स्वच्छ बनाउन सकिने बताए । उनले अभियानलाई निरन्तर सञ्चालन गरिराख्नुपर्ने बताए ।

उपप्रमुख कार्की झाडु लगाउँदै सडक सफाईमा लागेपछि स्थानीयबासीहरुले उनलाई साथ दिएका थिए । सफाई अभियानले स्थानीयबासीमा जागरण ल्याएको उप्रमुख कार्कीले बताईन । उनले भनिन्,‘ अभियान निरन्तर चल्ने छ ।’ सडक सफाई शुरु भएपछि सहभागिता बढ्दै जानुले थप हौसला मिलेको उनले बताईन ।

विराटनगरको सफाईमा तीनवटा संस्थाले काम गर्दै आएका छन् । उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा उनीहरुले फोहोर व्यवस्थापनको काम गर्दै आईरहेका छन् । जनप्रतिनिधि सहित सहभागि सरसफाई अभियान प्रभावकारी भएको स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालका अध्यक्ष कृष्ण तिम्सीनाले बताए ।