विराटनगर, २५ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको चौथो दिन प्रत्यागमन मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको बुढानिलकण्ठ से. ई. बो. स्कुलले पाठ्यक्रममा समावेश नाटक मञ्चन गरेको हो ।
गुरुप्रसाद मैनालीको कथालाई विद्यालयकी शिक्षक अस्मिना भट्ट कर्णले नाट्य रुपान्तरण र निर्देशन गरेकी हुन् । पारिवारिक पृष्ठभूमिको उक्त नाटकले नेपाली समाजका वास्तविकतालाई जीवन्त र प्रभावकारी ढंगले उद्घाटन गरेको थियो । नाटकमा प्रविण मोते, अभिषा आचार्य, सर्वश्री भट्टराई, समर्पण खनाल, युनिशा दाहाल, संस्कृति पाण्डे, विवेश चौधरी, जिवन ढकाल, सिर्षदा सुवेदी, रिदम घिमिरे र विपुल प्रधानले अभिनय गरेको थिए ।
भदौ ३१ गतेसम्म चल्ने नाट्य महोत्सवमा अब आइतबार रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले चोर मञ्चन गर्नेछ । यस्तै भदौ २७ गते सुम्निमा इ. स्कूलले भविष्य निर्माण, भदौ २८ गते मोर्डन एरा से.इ.बो. स्कूलले कोही किन बर्बाद होस्, भदौ २९ गते लक्ष्मीनारायण वेद विद्याश्रमले सुसंस्कृतम्, भदौ ३० गते कान्तिपुर से. स्कुलले खुट्टीमा झुण्डिएको कोट र भदौ ३१ गते अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । दैनिक अपराह्न ४ बजे फरक फरक विद्यालयका नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो ।
सहभागी विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ ।