मोरङ ४ मा एमालेको चुनावी अभियान तीव्र, २ सय बढी एमालेमा प्रवेश

विराटनगर ४ फागुन । मोरङ क्षेत्र नं. ४ मा नेकपा एमालेको चुनावी अभियानले तीव्रता पाएको छ । गत माघ ६ गते मनोनयन दर्तापछि उम्मेदवार जीवन घिमिरेले घरदैलो, पार्टी कार्यकर्ता भेटघाट शुरु गर्नु भएको थियो ।

निर्वाचन आयोगले मुख्यप्रचार प्रसार आजदेखि खुला गरेपछि मोरङ ४ मा अभियानले तीव्रता पाएको नेकपा एमाले मोरङक सचिवालय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन कमिटी सदस्य मुकेश बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार क्षेत्र नं ४ मा घरदैलो अभियान शुरु भएदेखि अहिले सम्म विभिन्न राजनीतिक दलहरु परित्याग गरि २ सय बढी एमालेमा प्रवेश गरेको बताउनुभयो ।

क्षेत्र नं. ४ अन्तरगतका बेलबारी, कटहरी, ग्रामथान र विराटनगरका विभिन्न स्थानमा भएका कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेको बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ आज मात्र कटहरीमा दुई दर्जन बढी एमालेमा प्रवेश गरेका छन् ।’ उम्मेदवार घिमिरे लगायतका नेताले एमालेमा प्रवेश गरेकाहरुलाई स्वागत गरेको उहाँले बताउनुभयो ।

पार्टी प्रवेश गर्नेहरुले घिमिरेको नेतृत्व क्षमता, विकासमुखी एजेण्डा र विगतमा निर्वाह गर्नुभएको भूमिकाबाट प्रभावित भएर एमाले रोजेको प्रतिक्रिया दिएका छन् । उम्मेदवार घिमिरेले घरदैलो कार्यक्रम, सम्पर्क कार्यालय, विभिन्न समूह तथा समुदायसँगको भेटघाटलाई प्राथमिकता दिँदै मतदातासँग प्रत्यक्ष संवाद बढाउनुभएको छ । यसअघि विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग सुझाव संकलन गर्दै आउनुभएका घिमिरेले आफ्नो प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिसक्नुभएको छ ।

स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकतामा राख्दै घिमिरेले विगतमा अवसर पाउँदा सम्पन्न गरेका विकास निर्माणका कार्यलाई आधार बनाएर मतदाताको विश्वास जित्ने प्रयास गरिरहनु भएको छ ।

मोरङ क्षेत्र नं. ४ का चुनावी कमाण्डर नरेश पोखरेलले पहिलो चरणको घरदैलो कार्यक्रम सकेर आजदेखि आमरुपमा चुनावप्रचारको अभियान शुरु भएको बताउनुभयो ।