मुख्यप्रचारका कार्यक्रम आजदेखि खुला, दल र उम्मेदवारलाई आयोगको ६४ बुँदे निर्देशन

विराटनगर ४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् ।

निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पनि निर्वाचन आचारसंहिताको व्यवस्थाले आमसभा, कोणसभा तथा जुलुस प्रतिबन्धित थिए । सामूहिक घरदैलोलगायतका कार्यलाई पनि निर्वाचन आचारसंहिताले बन्देज गरेको थियो ।

आचारसंहिताको व्यवस्थाका कारण राजनीतिक दलले ठुला सभालगायतका कार्य गरेका थिएनन् । आचारसंहिताको व्यवस्था अनुसार मतदान हुने दिनभन्दा १७ दिनभन्दा अघि मात्र सभा, जुलुस गर्न पाउने व्यवस्था गरेको छ तर मतदानको दिनभन्दा ४८ घण्टाको मौन अवधिमा पनि दलले प्रचारप्रसार
गर्न पाउने छैनन् ।

फागुन १८ गते राति १२ बजेबाट मौन अवधि सुरु भएपछि प्रचारप्रसार बन्द हुने छन् । यो पटक राजनीतिक दलले मुख्य प्रचारका लागि १५ दिनको समय पाएका छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानुन र निर्वाचन आचारसंहिताको अधीनमा रहेर राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारका कार्य गर्नेमा आयोग विश्वस्त रहेको बताउनुभयो ।

राजनीतिक दल र उम्मेदवारलाई आयोगको ६४ बुँदे निर्देशन

फागुन २१ गते बिहीबारका दिन सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यस निर्देशनलाई पूर्ण रूपमा पालना गराएर निर्वाचनलाई स्वच्छ, प्रतिस्पर्धी र मर्यादित बनाउने आयोगको योजना छ ।

हरेक राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका क्रममा मर्यादित रूपमा प्रस्तुत हुनुपर्ने आयोगले जनाएको छ । राजनीतिक दल तथा उम्मेदवारले २०८२ फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ ।

जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनका लागि घरदैलो कार्यव्रmम गर्न पाउने आयोगले स्पष्ट पारेको छ ।

आयोगले दिएको निर्देशनमा निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनबमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गराउन नपाउने उल्लेख छ ।

कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पुर्याउने, धाकधम्की वा डर त्रास देखाउने, कुनै किसिमले लोभलालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा नपार्न पनि आयोगले निर्देशन दिएको छ ।

निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम दिन नपाइने आयोगको निर्देशनमा उल्लेख छ ।

दानदातव्य र बकसका रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोजको आयोजना गर्न वा त्यस्तो प्रयोजनका लागि नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न वा सार्वजनिक भोजमा सहभागी हुन नहुन पनि आयोगले निर्देशन दिएको छ ।

निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौ मिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पुर्याउने वा खलल पार्ने काम नगर्न, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थामा खलल पार्ने, कुनै धर्म, जातजाति, वर्ग, क्षेत्र वासम्प्रदायबिचकोसुसम्बन्धमा खलल पुर्याउनेकार्य नगर्न पनि निर्देशन दिएको छ ।

निर्वाचनका क्रममा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताका आधारमा घृणा उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने पनि आयोगले दिएको निर्देशनमा उल्लेख छ ।

निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हत्या गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो । उहाँका अनुसार निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख भएबमोजिम ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्रै वितरण गर्नुपर्ने छ ।