विराटनगर, १५ भदौ । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ ।
विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र (फायर इस्टिङगुइसर) राख्नुपर्ने भएको छ । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि होटल सञ्चालकलाई बोलाएर महानगरले छलफलसमेत गरेको छ । एक महिना अगाडि तीनपैनी छेउमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको थियो ।
रेष्टुरेन्टमा अग्नि नियन्त्रण यन्त्र नहुँदा ठूलो क्षति भएको थियो । विराटनगरवासीको हितका लागि महानगरले गरेका हरेक निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको छलफलमा सहभागीहरूले प्रतिबद्धता जनाएका छन् । होटलको सुरक्षाका लागि आफूहरू अग्नि नियन्त्रण यन्त्र राख्न तयार रहेको होटल एसोसिएसन नेपाल प्रदेश–१ का अध्यक्ष राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । महानगरका प्रमुख नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीसहितको उपस्थितिमा भएको छलफलमा महानगरले गरेका राम्रा निर्णय कार्यान्वयनमा आफूहरू तयार रहेको होटल व्यवसायीहरूले प्रतिबद्धता जनाउनुभयो । विराटनगर–६ केशलिया पुल छेउको ल्याण्डफिल्ड साइटमा सेफ्टीट्यांकीको मलमूत्र फ्याँक्न निषेध गर्ने महानगरको निर्णय पनि बुधबारदेखि नै कार्यान्वयनमा आएको छ ।
महानगरले सो निर्णय मंगलबार गरेको थियो । बुधबार सेफ्टीट्यांकी व्यवसायीहरूलाई बोलाएर तत्कालै निर्णय कार्यान्वयन गर्न महानगरले आग्रह गरेको छ । खुल्ला ठाउँमा मलमूत्र फ्याँक्नेलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । यसैगरी बजार अनुगमनलाई प्रभावकारी र परिणाममुखी बनाउन महानगरले सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।
उपभोक्तावादी संस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी, औषधि व्यवस्था विभाग, वाणिज्य तथा नापतौल कार्यालयलगायत सरोकारवाला कार्यालयका प्रतिनिधिलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको हो ।