एमाले उम्मेदवार विरुद्ध गलत बोले कार्यकर्ताले घाँटी अठ्याउने खतिवडाको चेतावनी

विराटनगर २९ माघ । नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष तथा मोरङ क्षेत्र नं. १ का उम्मेदवार घनश्याम खतिवडा अहिले निर्वाचन क्षेत्रमा घरदैलो, मतदाता भेटघाटमा व्यस्त रहनु भएको छ । उहाँले निर्वाचन क्षेत्रका कुनैपनि प्रतिष्पर्धी उम्मेदवार विरुद्ध बोल्नु भएको छैन ।

यसअघिका निर्वाचनमा पनि शुरुमा कुनैपनि उम्मेदवार विरुद्ध उहाँले बोल्नु भएको थिएन । प्रतिष्पर्धी उम्मेदवारले उहाँ विरुद्ध बोल्नेहरुको उहाँले जवाफ दिएरै बोल्न नसक्ने भने बनाईदिनु भएको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ १ मा खतिवडा सहित १७ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । केही उम्मेदवारले खतिवडा विरुद्ध जथाभावी बोल्दै हिँड्न थालेपछि उहाँले आज जे पायो त्यही नबोल्न आग्रह गर्नु भएको छ ।

उर्लाबारीमा नेकपा परित्याग गरि एमाले प्रवेश गरेका मिलन दाहाललाई स्वागत गर्दै खतिवडाले एमाले उम्मेदवार विरुद्ध गलत बोल्नेलाई कार्यकर्ताले ठिक पार्ने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो,‘ प्रतिष्पर्धी साथीहरु विरुद्ध म गलत बोल्दिन, मेरो त्यो बानी पनि छैन । तर, म र मेरो पार्टी विरुद्ध बोल्दै हिँड्नेलाई कार्यकर्ताले घाँटी अठ्याएको बेला थाहा हुन्छ ।’

रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने तर्फ लक्षित गर्दै खतिवडाले शान्तपूर्वक मत लिएर जान आग्रह गर्दै आइन्दा जे पायो त्यही नबोल्न चेतावनी दिँदै गलत प्रचार गरे अरिगांल जस्तो पार्टी पक्ति खनिने बताउनुभयो ।

पार्टी प्रवेश कार्यालयमा नेकपा परित्याग गरेका दाहालले कम्युनिष्ट पार्टी भनेको नेकपा एमाले मात्रै रहेको बताउनुभयो । उहाँले नेपाली कम्युनिष्ट पार्टीको भविश्य नभएको बताउनुभयो । २०७४ र ०७९ मा दुई पटक वडाध्यक्षको उम्मेदवार हुनुभएका उहाँ हाल उर्लाबारी बहुमुखी क्याम्पसका सञ्चालक समितिमा हुनुहुन्छ ।