एभरेष्ट स्कुलको ३२ औं अभिभावक दिवस

विराटनगर १६ माघ । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले ३२ औं अभिभावक दिवसको अवसरमा विश्वस्तरीय शिक्षा यहिँबाट प्रदान गर्ने प्रण गरेको छ ।

कक्षा नर्सरीदेखि ५ कक्षाका विद्यार्थीहरुसँगको आज पहिलो दिनको अभिभावक दिवसमा बोल्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विश्वका सम्पन्न मुलुकहरुमा दिइने स्तरको शिक्षा एभरेष्टबाट नै दिने प्रण गर्नुभएको हो । उहाँले अहिलेको सूचना र प्रविधिको युग जति गतिशिल छ, सोहि गतिमा शिक्षाको विकास गर्नुपर्ने अवस्था रहेको भन्दै एभरेष्ट स्कुलले त्यसलाई आत्मसाथ गरेको बताउनुभयो । उहाँले विद्यालयका भौतिक संरचनामा जति लगानी गरिएको छ सोही अनुपातमा विद्यार्थीको शैक्षिक उनन्नयनका लागि पनि लगानी गरेको बताउनुभयो । उहाँका अनुसार एभरेष्टका विद्यार्थीहरुले विभिन्न मुलुकमा पुगेर आफ्नो क्षमता पुष्टि गर्न थालेको बताउनुभयो ।

प्रिन्सिपल पुरीले अहिलेको एआईको युगमा प्रविधि, विज्ञान र सीपलाई एकसाथ अघि बढाउनुपर्ने भन्दै त्यसको वातावरण एभरेष्टले बनाएको समेत बताउनुभयो । विराटनगर महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले एभरेष्टले दिएको शैक्षिक वातावरण अब्बल रहेको भन्दै युग सापेक्ष जनशक्ति उत्पादनमा विद्यालयहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सबैको मेहनतले नै विद्यालयलाई सफल बनाउने बताउनुभयो । ३२ वर्ष अघि ८४ जना विद्यार्थीबाट सुरु भएको एभरेष्टले अहिलेसम्म २५ औं ब्याचका विद्यार्थीहरुलाई एसएलसी÷एसईई उत्तिर्ण गराइसकेको छ ।

प्ले ग्रुपदेखि कक्षा १२ सम्म २५०० विद्यार्थीलाई अध्यापन गराउँदै आएको एभरेष्ट आउँदो शैक्षिक सत्रदेखि अध्ययापन गराउन काठमाडौं विश्वविद्यालयको बीआईटीको सम्बन्धन समेत प्राप्त गरिसकेको छ । अभिभावक दिवसको दोस्रो दिन शनिवार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको कार्यक्रम रहने विद्यालयले जनाएको छ ।