निर्वाचनमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै तत्काल रोक्न मोरङका राजनीतिक दलहरुको आग्रह

विराटनगर १५ माघ । निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै तत्काल रोक्न मोरङका राजनीतिक दलकाहरुले आग्रह गरेका छन् । राष्ट्रिय झण्डा बोेकेर हिँड्ने मात्रै राष्ट्रवादी नहुने उनीहरुको भनाई छ । राष्ट्रिय झण्डाको प्रयोग संविधानले व्यवस्था गरे अनुशारको गर्नका लागि नेताहरुले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी समक्ष आग्रह गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आचारसंहिता पालना लगायतबारे मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका राजनीतिक दल, स्वतन्त्र उम्मेदवार, निर्वाचनका पर्यवेक्षक, मानव अधिकारकर्मी, सञ्चारकर्मीहरु लगायतसँग मुख्यनिर्वाचन अधिकृतको कार्यालयले आज आयोजना गरेको सर्वपक्षिय छलफल कार्यक्रममा जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष मो.नसरुलले उम्मेदवारहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गरेको बताउनुभयो । उहाँले राष्ट्रिय झण्डाको प्रयोग कसरी गर्ने भन्ने सामान्य जानकारी पनि नभएकाहरुले झण्डाको दुरुपयोग गरेको भन्दै गुनासो गर्नुभयो ।

उज्यालो नेपाल पार्टी मोरङका अध्यक्ष देवराज कार्कीले राष्ट्रिय झण्डाको दुरुपयोग बढेकाले तत्काल नियन्त्रण गर्न माग गर्नुभयो । निर्वाचनका उम्मेदवारले राष्ट्रिय झण्डा बोकेर हिँड्नु ठिक नभएको उहाँले बताउनुभयो । जनमत पार्टीका मोेरङ इन्चार्ज जीवन गुप्ताले मोरङमा उम्मेदवारहरुले राष्ट्रिय झण्डा प्रयोग नगर्ने गरिको व्यवस्था गर्न आग्रह गर्नुभयो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मोरङ अध्यक्ष मिक्सम मिभकले राष्ट्रिय झण्डाको दुरुपयोग बढेको बताउनुभयो । नियमनकारी निकायले झण्डाको दुरुपयोग रोक्न माग गर्नुभयो ।

सर्वपक्षिय छलफल कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा, नेकपा माओवादी, राप्रपा लगायतका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले निर्वाचन भयरहित बनाउनुपर्नेमा जोड दिए । राजनीतिक दलहरुले पनि भयरहित वातावरण बनाउन सहयोग गर्ने उनीहरुको प्रतिबद्धता जनाए ।

स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता कडाईका साथ पालना गराउनुपर्नेमा जोड दिए । उनीहरुले सञ्चार माध्यमले ठुला राजनीतिक दलका उम्मेदवारका बारेमा मात्रै समाचार प्रकाशन/प्रसारण गरिएको भन्दै आपत्ती जनाएका थिए ।

मोरङका मुख्य निर्वाचन अधिकृत भीष्म प्रसाइँले आचारसंहिताको प्रभावकारी पालनाका लागि उम्मेदवारहरु समक्ष आग्रह गर्नुभयो । उहाँले मतदानको १७ दिन अघि देखि मात्रै प्रचारप्रसार गर्न पाईने भएकाले फागुन ४ गतेदेखि प्रचारप्रसारका कार्यक्रम गर्न पाईने बताउनुभयो । उहाँले उम्मेदवारको आर्थिक पाटोलाई व्यवस्थित गर्नका लागि हरेक जिल्लामा कोलेनिकाका प्रमुखको संयोजकत्वमा र आमसभा, जुलुस, आचारसंहिता उल्लंघन लगायतबारे सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमनको प्रवन्ध भएको बताउनुभयो । उहाँले उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षालाई ध्यान दिएर काम भईरहेको बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत प्रसाइँले मोरङका १, २ र ३ का उम्मेदवारको अधिकतम खर्च सीमा ३१ लाख र ४, ५ र ६ का उम्मेदवारको २९ लाख रहेको बताउनुभयो । उम्मेदवारले अलग्गै बैंक खाता खोली सोही खाताबाट निर्वाचन खर्च गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आमसभा गर्ने स्थान एउटै हुने भएकाले फागुन ४ पछि पूर्व स्वीकृति लिएर मात्रै गर्न आग्रह गर्नुभयो । उहाँले आचारसंहिता उल्लंघनबारे उजुरी आउनेवित्तिकै कारवाही प्रकृया अघि बढाईने बताउनुभयो ।