विराटनगर १२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि मोरङ क्षेत्र नं. ६ मा एमालेले नेता तथा सोही क्षेत्रका पूर्व सांसद लालबाबु पण्डितको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
निर्वाचन परिचालन कमिटीमा क्षेत्र नं. ६ को भूगोलमा रहेका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटी पदाधिकारी, सदस्यहरु, महानगर, नगर, गाउँपालिका कमिटीका पदाधिकारीहरु, जनसंगठनका पदाधिकारी लगायत गरि ५०१ सदस्यीय बनाईएको छ ।
निर्वाचन परिचालन कमिटीले क्षेत्र नं. ६ का २० वटै वडालाई केन्द्रित गरेर चुनाव एमाले उम्मेदवार विनोद ढकालको प्रसारप्रसार अभियानलाई तीव्र बनाएको छ । वडा भेलाहरु धमाधम भईरहेको महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुशार वडा, नगर स्तरिय भेलाहरु पनि भईरहेको छ ।
सोमबार निर्वाचन परिचालक कमिटीले सुन्दरहरैचा र विराटनगरमा चुनाव लक्षित भेला गरिएको छ । मोरङ ६ मा एमालेबाट उम्मेदवारी दर्ता गरेपछि नेता ढकालले घरदैलो अभियानलाई पनि तीव्र पार्नु भएको छ ।
क्षेत्र नं. ६ मा सुन्दरहरैचा नगरपालिका अन्तरगतका २ देखि ७ नं. वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगर क्षेत्रका ४, ५, ६, ७, ९, ११ र १२ वडाहरु रहेका छन् ।
क्षेत्र नं. ६ का २० वडा वडामा १ लाख ३७ हजार ८३२ मतदाता रहेका छन् ।
