विराटनगर महानगरद्वारा आवधिक योजनाका लागि विज्ञहरूसित छलफल सुरु

विराटनगर, २८ साउन । विराटनगर महानगरपालिकाले विराटनगरको समग्र विकासका लागि विषय विज्ञहरूसित छलफल सुरु गरेको छ ।

महानगरले विषय विज्ञलाई बोलाएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन के कस्ता योजना ल्याएर विराटनगरको वृहत्तर विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरेको हो । छलफलमा सहभागीहरूले सबैलाई करको दायरामा ल्याएर महानगरको आम्दानी बढाउनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरको पहिचान झल्कने योजनाहरू सञ्चालन गर्नसमेत सुझाव दिए । पहिलो चरणमा बुद्धिजीवि र विभिन्न सामाजिक संघसंस्थामा आबद्ध व्यक्तिहरूलाई प्रतिनिधिमूलक रुपमा छलफल गरेको छ । सो अवसरमा महानगर प्रमुख नागेश कोइरालाले महानगर योजना आयोग बनाएर विराटनगरको वृहत्तर विकासमा लाग्ने बताउनुभयो ।

महानगरको आवधिक योजनाका लागि प्रारम्भिक सुझाव संकलन भएको उहाँको भनाइ थियो । बढीभन्दा बढी प्रविधिको प्रयोग गरेर सेवाग्राहीको सहजताका महानगरले काम गर्ने उपप्रमुख शिल्पा निराला कार्कीले बताउनुभयो ।

विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडासमेतको उपस्थितिमा भएको छलफलमा प्रा.डा. पीके झा, डा. भेषप्रसाद धमला, वरिष्ठ अधिवक्ता भरत थापा, विनयराज पाण्डे, महेन्द्र मोरङ क्याम्पसका प्रमुख प्रा.डा. बाबुराम तिम्सिना, बुद्धिजीवी दिनेश श्रेष्ठ, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, महासचिव यज्ञ शर्मा, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, साहित्यकार रामबाबु दाहाल, एविसी नेपालकी अध्यक्ष विष्णु शर्मा, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, युवा अभियन्ता वसन्त अधिकारीलगायतले महानगरको विकासका सन्दर्भमा आ–आफ्ना सुनाव दिएका थिए ।