कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्धारा पत्रकार पौडेल सहित चार जना सम्मानित

विराटनगर, २७ साउन । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले पत्रकार कमल पौडेल सहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने चार जना व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

कृष्णप्रसाद सिग्देलको १३ औं स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले पत्रकारिता तर्फ मकालु टिभीका समाचार प्रमुख पौडेललाई पुरस्कृत गरेको छ । पत्रकार पौडेललाई नगद २१ हजार १११ सहित पुरस्कृत गरिएको छ । स्वर्गीय सिग्देलले अध्ययन गरेको सुनसरी मधुवनको जनता माविबाट एसईईमा उत्कृष्ट अंक ल्याउने अञ्जलीकुमारी गुप्तालाई नगद १५ हजार १११ राशी सहित पुरस्कृत गरिएको छ ।

स्मृति दिवसको अवसरमा महिला उद्यमी सोमी भगत र यूवा उद्यमी गोपाल अग्रवाललाई सम्मानित गरिएको छ । उहाँहरु सवैलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की लगायतले सम्मानित गर्नुभएको थियो ।

कार्यक्रममा स्वस्तिक ट्रान्सपोर्टका मजदुरलाई कपडा, ट्रान्सपोर्टको मजदुर भलाई कोषलाई २१ हजार, चालक कल्याण कोषमा २१ हजार, कर्मचारी कल्याण कोषलाई ५१ हजार प्रदान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख कोइराला, उपप्रमुख कार्की, एमाले केन्द्रीय सदस्य विनोद ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउत, पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल, प्रतिष्ठानका कोषाध्यक्ष सञ्जीव सिग्देल लगायतले स्वर्गीय सिग्देलले व्यवसायिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको समरण गर्नुभएको थियो । सिग्देलको ०६६ साउन २७ गते निधन भएको थियो ।