विराटनगर, २६ साउन । प्रदेश नं १ प्रदेश खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३४ खेलमा सहभागिता जनाउने भएको छ ।
बोर्डद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गते हुने उक्त खेलकुद प्रतियोगितामा ६९४ खेलाडी सहित ७८२ जनाको सहभागिता हुने जानकारी दिइयो । बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्रतियोगितामा प्रदेशले विभिन्न खेलमा २० वटा स्वर्ण पदक जित्ने विश्वास व्यक्त्त गर्नुभयो । उहाँले भदौ महिनाको २ गतेदेखि ७ गतेसम्म जिल्ला छनौट तथा भदौ १० गतेदेखि १९ गतेसम्म प्रदेशस्तरीय वृहत खेलकूद प्रतियोगितामा ४०५ वटा इभेन्टसहरुवाट ६९४ जना खेलाडी छनौट गर्ने तालीका सार्वजनिक गरिएको बताउनु भयो ।
सदस्य सचिव वाग्लेले राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिता जनाउनका लागि १० करोड आवश्यक भएकोमा प्रदेश सरकारबाट अहिले रु ५० लाख तथा राष्ट्रिय खेलकूद परिषदबाट ४९ लाख प्राप्त भएको जानकारी दिनु भयो । प्रतियोगितामा सहभागिताका लागि प्रदेशका १४ जिल्लामा छनोट कार्यक्रम गर्ने र खेलाडीहरुबाट खेलमा उत्कृष्ट सफलता प्राप्त गर्नका लागि वैज्ञानिक ढङ्गले बन्द प्रशिक्षणको व्यवस्था गरेको सदस्य रोशनी राईले बताउनु भयो । उहाँले प्रदेशका खेलाडीहरुले २७४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् भने उक्त खेलकुदमा प्रदेशले उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त्त गर्नु भयो ।
प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नौ स्वर्ण, २० रजत र ५९ वटा कास्य सहित सातौं स्थान प्राप्त गरेको थियो ।