विराटनगर, २६ साउन । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका एक जना प्रतिवादी गएराति फरार बनेका छन् ।
विराटनगर महानगरपालिका–१८ घर भएका ४५ वर्षीय लक्ष्मण दास राति १० बजेतिर फरार बनेको प्रहरीले जनाएको छ । दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते दोषी ठहर गर्दै ६ महिना कैद सजायको फैसला सुनाएको थियो । तीन वर्षदेखि फरार रहेका उनलाई यही साउन २० गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेर अदालतमा पेश गर्नुअघि प्रहरीले दासको कोरोना परीक्षण गरायो । रिपोर्ट पोजिटिभ आएसँगै कारागारले जिम्मा लिन नमानेपछि उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको थियो ।
प्रहरीको निगरानीमा उपचार गराइरहेका दास शौचालय जाने बहानामा फरार बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । दासको निगरानीका लागि प्रहरी हवल्दार होमबहादुर बुढाथोकी र सहायक हवल्दार उमेश यादवलाई खटाइएको थियो । सुरक्षामा खटाइएका प्रहरीबाटै फुत्किएर फरार बनेको बताइएको छ । दासको सुरक्षामा खटिएका बुढाथोकी र यादवमाथि जिल्ला प्रहरी कार्यालय मोरङले छानबिन थालेको छ ।
डीएसपी श्रेष्ठले फरार रहेका दासको खोजी तीव्र पारेर छानबिन अघि बढाइएको जानकारी दिनु भयो । कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले उपचाररत संक्रमित भाग्नुमा अस्पतालको कुनै कमजोरी नरहेको दाबी गर्नु भयो ।