विराटनगर ११ कात्तिक । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्व सम्पन्न भएको छ । गत शनिबारदेखि शुरु भएको छठ आज विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै सम्पन्न भएको हो ।
उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सकिने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो ।
सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।
कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।
छठ पर्वको अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।