मुख्यमन्त्री कार्कीद्वारा छठ पर्वकाे शुभकामना

विराटनगर १० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सूर्य भगवानप्रति आस्था, आत्मानुशासन र समर्पणको पर्व छठको पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले छठ पर्व नेपाली समाजको साझा पहिचान, सहअस्तित्व र सहिष्णुताको प्रतीक भएको उल्लेख गर्दै यो पर्वले सबैलाई एकतामा बाँध्ने प्रेरणा दिन्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो, “छठ पर्वले प्रकृति, जल, माटो र सूर्यप्रतिको कृतज्ञता प्रकट गर्छ, जसले मानिस, समाज र वातावरणबीचको सम्बन्धलाई अझ मजबुत बनाउँछ।”

उहाँले अनुसार यो पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई अझ सुदृढ बनाउने अवसर प्रदान गर्ने उल्लेख‌ गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले समाजमा शान्ति, समृद्धि र उज्ज्वल भविष्यको कामना गर्दै सबैलाई छठ पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

कोशी प्रदेश सरकार सबै जात, भाषा, धर्म र संस्कृतिप्रतिको सम्मान र संरक्षणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले विविधता भित्रको एकतालाई पहिचान र गौरवका रूपमा स्थापित गर्न निरन्तर प्रयत्नरत रहेको बताउनुभयो।

मुख्यमन्त्री कार्कीले सूर्य भगवानलाई समर्पित छठ पर्वले समाजमा नयाँ उर्जा, उत्साह र उमङ्ग ल्याउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा स्वास्थ्य, सुख, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।