विराटनगर ८ द्धारा छठ पूजाका लागि ६ वटा घाट निर्माण

विराटनगर ९ कात्तिक । विराटनगर महानगरपालिका वडा नंं ८ मा छठ पूजाका लागि ६ स्थानमा छठ घाट निर्माण गरेको छ । महानगरपालिका कार्यालय र वडा कार्यालयको सहयोगमा छठ घाट तथा बाटो निर्माण गरिएको हो ।

छठ पूजा गर्ने बाडाबासीको सहजताका लागि वडा कार्यालयको सहयोगमा छठ घाट निर्माण गरिएको छ । वडा कार्यालय अन्तरगतका हाटखोला, सुकुम्बासी टोल, बधशाला, बृद्धाश्रम, छठीमाई र बलुवाहीको सिंगिया खोलामा छठ घाट तथा बाटो निर्माण गरिएको जनाएको छ ।

छठ पूजाका लागि घाट र बाटो निर्माण कार्य गरेकोमा स्थानीयबासीले प्रशंसा गरेका छन् । ब्रतालु र तिर्थालुहरुको सहजताका लागि छठ घाट सम्म पुग्नका लागि बाटो पनि निर्माण गरेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । सोमबार छठ पर्व भएकाले आज करिव काम सकिने उहाँले बताउनुभयो । छठ पूजाका लागि घाट सम्म पुग्ने र धेरै ब्रतालु तथा भक्तजनहरु पुग्ने स्थानको बाटो मर्मतको काम पनि भईरहेको वडाध्यक्ष पोखरेलले बताउनुभयो ।

छठ घाट र बाटो निर्माणका लागि केहीदिन देखि निरन्तर काम भइरहेको वडा सदस्य भुवन राजवंशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ हामी जनप्रतिनिधिहरु केही देखि जेसिवी लिएर घाट र बाटो निर्माणमा लागि परेका छौं ।’

छठ पूजाका लागि छठ घाट र बाटो निर्माणमा ब्रतालुहरुलाई समस्या देखिएपछि वडा कार्यालयको अग्रसरतामा काम गरिएको राजवंशीले बताउनुभयो ।