दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने

विराटनगर १५ असोज । दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले अनुरोध गरेका छन् ।

यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्‍याउने सम्भावना छ ।

मौसम पूर्वानुमानमा प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टुबर ३ अर्थात असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले नेपाल र छिमेकी देशहरुमा भारीदेखि अति भारी वर्षा हुने संकेत गरेका छन् ।

मौसम प्रक्षेपणका लागि प्रयोग गरिने युरोपियन मोडेल (ईसीएम डब्लुएफ), जर्मन मोडेल (आइकोन) र अमेरिकन मोडेल (ग्लोबल फरकास्ट सिस्टम (जीएसएफ)ले भारीदेखि अति भारी वर्षा हुने संकेत गरेका हुन् ।

यी तीनवटै मोडलका अनुसार असोज १७ गते शुक्रबारदेखि पूर्वी नेपालबाट त्यसको प्रभाव सुरु हुन्छ ।

असोज १८ र १९ गते यसको प्रभाव अझ बढी देखिन्छ । त्यसको असरले कुनै–कुनै स्थानमा भारीदेखि अति भारी वर्षा गराउने प्रक्षेपण छ ।

असोज १९ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।

नेपालमा मौसमको भविष्यवाणी गर्ने सरकारको आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले पनि विशेष बुलेटिन जारी गर्दै असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ ।

‘यस वर्षको दशैंको अवधिभर मनसुनी वायुको प्रभाव रही दशैंको अन्तमा मनसुन सक्रिय समेत हुने सम्भावना रहेकाले सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरोको साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ विभागले मंगलबार साँझ जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।