
विराटनगर ५ असोज । जेनजी आन्दोलनका. क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडमा परी मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको भौतिक संरचनासहित अधिकांश अभिलेख नष्ट भएको छ । विराटनगरस्थित यी दुवै अदालतको अभिलेख शाखामा रहेका दुई लाखभन्दा बढी मिसिल जलेर नष्ट भएको बताइएको छ ।
२०२१ सालमा स्थापना भएको जिल्ला अदालतको अभिलेख शाखामा करिब एक लाख ५० हजार मिसिलमध्ये करिब एक लाख ४५ हजार मिसिल जलेर नष्ट भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो ।
अभिलेख शाखामा रहेकामध्ये करिब चार हजारदेखि चार हजार पाँच सय जति मिसिल जोगिएको सूचना अधिकारी बुढाथोकी बताउनुहुन्छ । उनका अनुसार आगजनीपछि अदालतको दैनिक काम कारबाहीमा ठुलो असर पुगेको छ । त्यस्तै जिल्ला अदालतको भौतिक संरचना, राजस्व र सवारीसाधानसम्बन्धी थुप्रै फाइल, पुराना फैसला तथा प्रमाणपत्रहरू जलेर ध्वस्त भएका छन् । आगजनीमा परी जिल्ला अदालतपरिसरमा रहेका ६२ वटा निजी मोटरसाइकल र स्कुटर, ५९ वटा मुद्दाको दसीका रूपमा राखिएका मोटरसाइकल, न्यायाधीशका सात वटा गाडी तथा अदालतका तीन वटा चारपाङ्ग्रे गाडी जलेर नष्ट भएका छन् ।
आगजनीले जिल्ला अदालतको छ दशकभन्दा पुरानो न्यायिक इतिहास खरानी बनाएको छ । उच्च अदालत विराटनगरमा पनि इजलास र विशेष अभियान फाँटमा रहेका करिब एक हजार मिसिल मात्रै जोगिएका छन् । उच्च अदालतविराटनगरको अभियान फाँटमा रहेका ५४७ वटा मिसिल मात्रै बचेको अदालतका रजिस्ट्रार जगदीशप्रसाद भट्ट बताउनुुहुन्छ । उहाँका अनुसार अदालतको अभिलेख शाखामा करिब ६५ हजार मिसिल रहेका छन् ।
उच्च अदालत विराटनगरमा २०८३ असारसम्म दुई वर्ष नाघेका मुद्दालाई प्राथमिकताका साथ अभियान फाँटमा राखिएको थियो । त्यहाँ रहेका सबै मिसिल सुरक्षित रहेका छन् । उच्च अदालतमा पनि मुद्दाका मिसिलसँगै अदालतमा ११ वटा सरकारीगाडी, दुई वटा निजी गाडी र विभिन्न मोटरसाइकल जलेर नष्ट भएको रजिस्ट्रार भट्टले बताउनुभयो ।
दुवै अदालतमा आगजनी हुँदा विशेष गरेर मुद्दाका प्रमाण, प्रतिवादी र पीडितको बयान, न्यायिक आदेशका प्रतिलिपि आगोले ध्वस्त बनाएका छन् । जसका कारण न्याय प्रणाली एवं न्यायिक पहुँचमा गम्भीर असर पर्ने अधिवक्ता गणेशराज लुइँटेलले बताउनुभयो ।