
विराटनगर, २८ भदौ । पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक सहर तथा कोशी प्रदेशको राजधानी विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री पाएको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला विराटनगरकै बासिन्दा हुनुहुन्थ्यो । त्यसपछि मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले यस सहरलाई राजनीतिज्ञको उर्वर भूमिका रूपमा स्थापित गर्दै प्रधानमन्त्री भएर देशलाई नेतृत्व दिनुभएको थियो ।
मुलुकको पहिलो महिला प्रधानमन्त्रीका रूपमा यही विराटनगर महानगरपालिका वडा नम्बर ८ निवासी सुशीला कार्कीले प्रधानमन्त्री पद समाल्नुभएको छ ।
विराटनगरकी स्थायी निवासी कार्की लामो समयसम्म धरान र विराटनगरमा वकालत पेसामा संलग्न भई न्यायको पक्षमा सङ्घर्षरत हुनुहुन्थ्यो । इमानदार, निडर र हक्की स्वभावकी कानुन व्यवसायी कार्कीले कार्की एन्ड घिमिरे ल फर्मबाट कानुन व्यवसायको यात्रा सुरु गर्नुभएको थियो ।
नवनियुक्त प्रधानमन्त्री कार्कीसँग कार्की एन्ड घिमिरे नामको एउटै ल फर्ममा रहेर सँगै वकालत गर्नुभएका विराटनगर निवासी अधिवक्ता शान्तिराम भण्डारीका अनुसार जीविकोपार्जनका लागि वकालत पेसामा आबद्ध रहने सुनसरी र मोरङ जिल्लाकी उहाँ पहिलो महिला वकिलका रूपमा स्थापित हुनुभएको थियो । धरानमा रहेर वकालत गर्दै गर्दा उहाँले महेन्द्र बहुमुखी क्याम्पसमा २०४२ देखि ०४६ सालसम्म प्राध्यापनसमेत गर्नुभएको थियो ।
पञ्चायतकालीन समयमा उहाँले जिल्ला अदालतका अतिरिक्त अञ्चल र क्षेत्रीय अदालतमा समेत वकालत गर्नुभएको थियो ।