
विराटनगर १९ भदौ । आगामी भदौ २५ गते कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने भएको छ ।
पूर्ण खोप सुनिश्चितता एवं दिगोपना प्रदेश प्रमाणीकरण/घोषणा संवन्धी प्रदेश खोप समन्वय समितिको आज बसेको बैठकले भदौ २५ गते कोशी प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने निर्णय भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक तथा प्रदेश खोप समन्वय समितिका सदस्यसचिव ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । उहाँका अनुशार भदौ २९ गते नेपाललाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने कार्यक्रम छ । देशलाई नै पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गर्नुपूर्व प्रदेशलाई घोषणा गरिने उहाँले बताउनुभयो ।
कोशी प्रदेशका १४ वटै जिल्लाले यसअघि नै पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका छन् । वैशाख २७ देखि असार ३० गते सम्ममा कोशी प्रदेशका १ हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले बताउनुभयो ।
प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकमा उहाँले सो जानकारी दिनु भएको हो । कोशी प्रदेशका सवै वडा, स्थानीयतह र जिल्लाहरुले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिसकेकाले कोशी प्रदेशलाई भदौ २५ गते घोषणा गरिने उहाँले बताउनुभयो । संघीय सरकारले प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणाका लागि भदौ १५ गते अनुमति दिएको उहाँले बताउनुभयो ।
समन्वय समितिको बैठकमा खोपबाट बचाउन सकिने रोगहरुको अवस्था, नियमित खोप व्यवस्थापन, खोप निगरानी, जापनिज इन्सेफ्लाईटिस लगायतबारे छलफल गरि आर्थिक वर्ष २०८२–०८३ मा खोपलाई विशेष प्राथमिकतामा राखी खोप कार्यक्रमलाई प्रभावकारि बनाईने निर्णय गरिएको सदस्यसचिव बस्नेतले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा जापनिज इन्सेफ्लाईटिसबाट १८ जना संक्रमित भएको बताईएको छ । यसअघि सो रोगबाट सन् २०२४ मा १६ र सन् २०२३ मा १९ जना संक्रमित भएका थिए । प्रदेश खोप समन्वय समिति बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले शुन्य डोज र ड्रप आउटको समस्यालाई आगामी दिनमा सुधार गर्दै लगिने बताउनुभयो ।
कोशी प्रदेशमा शुन्य डोज भएका बालबालिकाको संख्या १५१ रहेको छ । पूर्ण खोप लगाउनबाट बञ्चित भएका बालबालिकाको संख्या ३ हजार ४९० रहेको छ ।