
विराटनगर २७ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले दुईवटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको बताउनु भएको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताउनुभयो । पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा सो विषयलाई टुङ्ग्याइ सकेको उहाँले बताउनुभयो । ‘यसमा एक जनाको मात्र असहमति छ, कर्ण थापाको मात्रै असहमति छ’, उहाँले भन्नुभयोे ।
पार्टी विधानमा आफैले स्थगित गरेको कुरालाई स्थगित नगरे जसरी कार्यकर्ता र जनताको बिचमा लैजानु नहुने उहाँको धारणा छ । आफैँले गरेको काममा टिका टिप्पणी गर्नु राम्रो नहुने उहाँले स्पष्ट पार्नुभयो । पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने कुरा एमालेले लोकतन्त्र, पार्टी र स्वयम् पूर्वराष्ट्रपतिको हितका लागि सोचविचार गरेर गरेको उहाँले बताउनुभयो । बाँकी विषयमा महाधिवेशनमा आधार सहित छलफल गर्न सकिने उहाँको भनाइ छ ।
पार्टी भित्र विभिन्न खालका अन्तर्घात अहिले पनि कायम रहेको भन्दै उहाँले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन यसलाई त्यागेर एक ढिक्का भएर अघि बढ्नु पर्ने उहाँको धारणा छ । ‘पार्टीको आन्तरिक जीवनमा देखिएको आन्तरिक विवादले पार्टी संकटमा परेको छ, पार्टीलाई बालियो बनाउने सिङ्गो पार्टी एकजुट हुनुपर्दछ’, उहाँले भन्नुभयो । कोही आयो भने म असुरक्षित हुन्छु भन्ने कुराबाट मुक्त हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।