
विराटनगर १० साउन । प्रहरीले झापामा लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय, झापा र लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोलीले गोली चलाएर एकजना लागूऔषध कारोबारीलाई समातेको हो । ब्यूरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार, लागूऔषध कारोबारी नेपालतर्फ प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ को भित्री सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका ३६ वर्षीय मोहम्मद इस्लामलाई फेला पारेको थियो । त्यसक्रममा प्रहरीलाई आक्रमण गरेर भाग्न खोजने क्रममा उनलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली प्रहार भएको कोइरालाले बताउनुभयो ।
घटनामा इस्लामको घुँडामुनि गोली लागेको कोइरालाको भनाइ छ । उनको नजिकै रहेको प्रादेशिक अस्पताल, भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, इस्लामको साथबाट खैरो हेरोइन अन्दाजी १२० ग्राम फेला परेको जनाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरि सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीयलाई लागूऔषध खैरोहिरोइन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरोहिरोइन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रहरी प्रवक्ता विरेन्द्रकुमार पासवानका अनुसार शनिबार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपालतर्फ बी आर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकसहित छिरेका श्यामसुन्दरलाई प्रहरीले नवराजपुर गाउँपालिका–४ कुसण्डीमा रोक्न खोजेको थियो । तर नरोकी भाग्न थालेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको डीएसपी पासवानले बताउनुभयो ।
पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।