
विराटनगर २ साउन । विराटनगरको शिक्षादीप कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थी र अभिभावकलाई एकै पटक अभिमुखीकरण गरिएको छ ।
कलेजले आज विराटनगरको सिटी प्यालेसमा आयोजना गरेको विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रममा विद्यार्थीको स्वागतसँगै अभिमुखीकरण गरिएको थियो ।
कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका १८ औं व्याचका १ हजार ५३ विद्यार्थीको स्वागत कार्यक्रमपछि अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण मोटिभेटर डा. नविन शर्माले गर्नुभएको थियो । विद्यार्थी र उनीहरुका अभिभावकलाई फरक–फरक सभाहलमा राखेर एकैपटक अभिमुखीकरण गरिएको कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
विद्यार्थी भर्ना गरिसकेपछि कलेजका बारेमा अभिभावकले पनि जानकारी लिनु आवस्यक भएको उहाँले बताउनुभयो । उहाँले कक्षा ११ र १२ विद्यार्थीको टर्निङ पोइन्ट भएको बताउनुभयो । विद्यार्थीको सपना पुरा हुने समय पनि कक्षा ११ र १२ नै भएको उहाँले बताउनुभयो । उहाँले विद्यार्थीलाई अनुशासित हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ विद्यार्थी अनुशासित भए लक्ष्यमा पुग्न सकिन्छ ।’
कार्यक्रममा एसईईमा ४ जिपीए ल्याएर शिक्षादीपमा भर्ना भएका विद्यार्थीहरु आयुष्मा दाहाल, एलिशा सापकोटा, विशेष पौडेल, प्रिन्सकुमार गुप्ता, प्रियन्स यादव, संयोग भट्टराई, श्रेय शर्मा र प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने नारायण मण्डललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षादीप एजुकेशन फाउन्डेसनका अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुली, कि स्पीकर, मोटिभेटर डा. नविन शर्मा, शिक्षादीप एजुकेशन फाउन्डेसनका चिफ डाईरेक्टरहरु रमेशकुमार मण्डल, सह प्राध्यापक शैलेन्द्र सिवाकोटी, साईन्स कोअर्डिनेटर नविनकुमार राय, म्यानेजमेन्ट कोअर्डिनेटर शंकर भट्टराई, सञ्चालक सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।