विराटनगरको अरनिको स्कुलमा ११ सय विद्यार्थीको स्वागत

विराटनगर २ साउन । विराटनगरको अरनिको स्कुलले विज्ञान संकायमा भर्ना भएका विद्यार्थीको स्वागत गरेको छ । आज कलेज परिसरमा आयोजित कार्यक्रममा विज्ञान संकायमा भर्ना भएका एक हजार एक सय विद्यार्थीलाई स्कुलले स्वागत गरेको हो ।

विज्ञान संकायमा भर्ना हुनका लागि २ हजार बढी विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा १ हजार १ सय विद्यार्थीको भर्ना लिईएको विज्ञान संकायका संयोजक विकास खनालले जानकारी दिनुभयो ।
विज्ञान संकायमा कोशी, मधेश प्रदेश बाहेकका भारत, जमैका, म्यानमार, नामिविया देशका विद्यार्थीहरु पनि भर्ना भएको खनालले बताउनुभयो ।

विज्ञान संकायमा अरनिको नतिजा राम्रो भएकाले विद्यार्थीको आकर्षण बढेको उहाँको भनाई छ । विज्ञान संकायमा भर्ना भएका विद्यार्थीका लागि २३ वटा कक्षामा पठन पाठनको प्रवन्ध गरिएको उहाँले बताउनुभयो ।

विद्यार्थी स्वागत कार्यक्रममा डा. तारा गिरी र डा. नविन शर्माले विद्यार्थीलाई उत्प्रेरणामुलक मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा एसईई परीक्षामा अरनिको माविबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई राजबहादुर तथा कमल कुवँर पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि कक्षा ११ को प्रवेश परीक्षा, त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको अरनिको स्कुलका प्राचार्य राजेश कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा निर्देशक भरतराज दाहाल, विद्यार्थी सुलभ न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थीले नृत्य पनि प्रस्तुत गरेका थिए ।