
विराटनगर २८ असार । प्रेस चौतारी मोरङले जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुदिप कोइरालालाई प्रदान गर्ने भएको छ ।
विराटनगरमा शनिवार बसेको चौतारी मोरङ जिल्ला समितिको बैठकले यस वर्षको पुरस्कार कोइरालालाई दिने निर्णय गरेको अध्यक्ष चीना थापाले जानकारी दिनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज सुमन सुस्केराको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनौट समितिले सिफारिस गरेको नामलाई चौतारी जिल्ला कार्यसमिति बैठकलेअनुमोदन गरेको हो ।
पत्रकार कोइराला कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक हुनुहुन्छ भने प्रेस चौतारी मोरङका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । उहाँ हाल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको कोषाध्यक्ष हुनुहुन्छ । उहाँ डेढ दशक अघिदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
पुरस्कार साउनको दोस्रो हप्ता एक कार्यक्रमको आयोजना गरि वितरण गरिने प्रेस चौतारी मोरङले जनाएको छ ।
२०६६ सालमा स्थापना गरिएको यो पुरस्कार यसअघि पत्रकार दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, बिक्रम लुइँटेल, धर्मराज ढकाल, भुपेन्द्र तिम्सिना , गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई , कमल पौडेल , जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी र बाबुराम भण्डारीले प्राप्त गरिसक्नुभएको छ ।