
विराटनगर २७ असार । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले अनुशासन उल्लंघन गरेको भन्दै दुई जना वडाध्यक्षलाई सात दिनका लागि गाउँसभा बैठकमा निषेध गर्ने आदेश दिएका छन् ।
शुक्रबार सम्पन्न गाउँसभाको तेस्रो बैठकमा वडाध्यक्षहरूले सभाको मर्यादा भंग गरेको आरोप लगाउँदै अध्यक्ष माझीले उनीहरूलाई अनुशासनको कारबाही स्वरूप निष्कासन गरेका हुन् ।
गाउँसभाबाट दुई वडाध्यक्षलाई निष्कासन गरिएपछि ग्रामथानको गाउँसभा पुनः स्थगित भएको छ । माझी गत उपनिर्वाचनमा नेकपा माओबादी केन्द्रबाट निर्वाचित भएका थिए । ग्रामथानमा कांग्रेस र एमालेको बहुमत रहेको गाउँपालिकाले हालसम्म बजेटसम्बन्धी प्रस्तावसमेत पेस गर्न सकेको छैन ।
नीति तथा कार्यक्रम कार्यपालिकाबाट पास नगरी किन गाउँसभामा प्रस्तुत गरियो भन्ने विषयमा प्रश्न उठाएका वडानम्बर ७ का अध्यक्ष विरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेषनारायण चौधरीमाथि अध्यक्ष माझीले आदेश जारी गरेका थिए ।
निस्कासनको आदेश दिने गाउँपालिका प्रमुख विरुद्ध कानुनी उपचारमा जाने वडाध्यक्षहरुले बताएका छन् ।