विराटनगरबाट एसईईमा ४.० जिपीए ल्याउने १६ विद्यार्थी सम्मानित

विराटनगर २७ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा विराटनगरबाट ४.० जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ ।

विराटनगर महानगरमा आज आयोजित कार्यक्रममा ४ जीपीए ल्याउने विद्यार्थीहरु विकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पौद्दार, प्रिन्सा साह, श्रेहनराज साह, आदर्श माविका प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई र श्रेया शर्मालाई सम्मान गरिएको थियो ।

एभरेष्टका कृति गोयल, प्रेम खतिवडा, पोखरियाकी रागिनी न्यौपाने, सगरमाथाका सुशोभित न्यौपाने, कान्तिपुरका आयुषा कार्की र जेम्स स्कुलकी श्रीजी पोखरेललाई सम्मान गरिएको थियो ।

उत्कृष्ट नतिजा ल्याउने विकेभिएमका प्राचार्य रविन दाहाल, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, एभरेष्टका प्राचार्य टीकाराम पुरी र सहायक प्राचार्य टीएन भण्डारी, पोखरियाका सहायक प्रधानाध्यापक महेश गौतम, सगरमाथाका प्राचार्य त्रिलोचन गौतम, प्राचार्य कान्तिपुरका भेषराज नेपाल (भुवन) र जेम्सका पंकज खड्कालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विराटनगर महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, शिक्षा समितिका सदस्य रमानाथ भट्टराई, सावित्री पराजुलीलगायतले सम्मान गर्नुभएको थियो ।

विराटनगरका ७ वटा विद्यालयका १६ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । महानगरका २५ सार्वजनिक र ७२ वटा संस्थागत गरी ९७ वटा विद्यालयका ४ हजार ५२९ जना विद्यार्थीले एसईई दिएका थिए । जसमा ३ हजार ६९० जना अर्थात् ८१ दशमलव ४७ प्रतिशत विद्यार्थी ग्रेडिङ (उत्तीर्ण) भएका छन् । ८३९ जना भने ननग्रेडिङ भएका छन् । ९७ वटा विद्यालयले एसईई दिएकोमा शतप्रतिशत नतिजा ल्याउने विद्यालयको संख्या २८ रहेको छ ।

शून्य प्रतिशत नतिजा ल्याउने विद्यालयको संख्या २ रहेको महानगरका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । महानगर क्षेत्रभित्रका विद्यालयबाट एसईई दिएका १ हजार २२८ जनाले ३.६ भन्दा बढी जीपीए ल्याउन सफल भएका थिए । महानगरले विगत ३ वर्षदेखि एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गर्दै आएको छ ।