विराटनगरबाट अपहरणमा परेकी एक वर्षीया बालिकालाई ४८ घण्टापछि भारतको विहार दरभङ्गाबाट उद्धार

विराटनगर, ४ साउन । विराटनगरबाट अपहरणमा परेकी एक वर्षीया बालिकालाई प्रहरीले ४८ घण्टापछि भारतको विहार दरभङ्गाबाट सकुशल उद्धार गरेको छ ।

सोमबार विहान विराटनगर रोडशेष चौकबाट अपहरणमा परेकी बालिकालाई नेपाल भारतको बोर्डर एरियाबाट बुधबार विहान सकुसल उद्दार गरी घटनामा संलग्न अनु साह र रवीन्द्र साहलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–१ का दीपेन यादवकी एक वर्षीया छोरी निकिशा यादवको अपहरण उनकै साथीको योजनामा भएको खुलेको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–६ रामपुरका २७ वर्षीय रवीन्द्रकुमार साहले आफ्नी प्रेमिका विराटनगर–५ की २७ वर्षीया अनु साहलाई प्रयोग गरेर दीपेनकी नाबालिका छोरी निकिशालाई अपहरण गरेका हुन् । दीपेन र रवीन्द्र पुराना साथी रहेको प्रहरीले जनाएको छ ।

दीपेनको घरनजिक रवीन्द्रको श्रीराम ट्रेडर्स नामको पसल छ । बाबु दीपेनकै कारमा रहेकी निकिशा गत सोमबार बिहान ९ बजेतिर विराटनगर–१२ रोडशेष चोकबाट अपहरणमा परेकी थिइन् । प्रहरीका अनुसार पूर्वयोजनामुताविक रवीन्द्र पनि क्याम्पसनजिकै प्रदेश १–०२–०४६ प ७४१० नम्बरको मोटरसाइकल लिएर बसेका थिए ।

बच्चा लिएर आएकी अनु चढेपछि रवीन्द्रले मोटरसाइकल हुइँक्याए । सुनसरीको दुहवी, इनरुवा हुँदै सप्तरीको राजविराज पुर्याएर कुनौली नाकाबाट भारतीय गाडी रिजर्भ गरी बालिकालाई दरभंगा लगेर दुई दिनसम्म राखेको पाइएको एसपी शान्तिराज कोइरालाले बताउनु भयो ।