एक अर्व ३१ करोड मूल्य अभिवृद्धि कर छलीको अनुसन्धानको क्रममा व्यापारी वियानी जेल चलान

विराटनगर १८ असार । विराटनगर महानगरपालिका–७ का ३२ वर्षीय सौरभ कुमार वियानी रु एक अर्ब ३१ करोड ६४ लाख मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको अनुसन्धानमा पक्राउ गरी जिल्ला कारागार मोरङ चलान गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भूपाल शाक्यले वियानीलाई अनुसन्धानको क्रममा पक्राउ गरि सोमबार कारागार चलान गरिएको जानकारी दिनुभयो ।

व्यापारी वियानीले विराटनगरको भट्टाचोकमा ‘न्यू सौरभ ट्रेडिङ र बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ को नामबाट विराटनगरको पुष्पलाल मार्गको भट्टाचोकमा चारवटा सटरमा हार्डवेयर पसल संचालन गर्दै आइरहेका थिए ।

आन्तरिक राजश्व कार्यालयले अनुसन्धान पछि भ्याट छलेको अनुसन्धानको क्रममा पक्राउ गरेको हो ।

कार्यालयले हार्डवेयर व्यवसायी वियानीले उक्त फर्मको नामबाट कारोबार गर्ने क्रममा रु १ अर्ब ३१ करोड ६४ लाख १८ हजार ५६४ भ्याट छलेको भन्दै सोही रकम बराबरको हुन आउने रकम धरौटी बुझाउन आदेश दिएको थियो ।

वियानीले तोकेको धरौटी बुझाउन नसकेपछि थुनुवा पूर्जी दिएर कारागारमा पठाइएको छ ।