एमालेको राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा

विराटनगर १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गर्नु भएको छ । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गर्नु भएको हो ।

एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उहाँले बताउनुभयो । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

उहाँले आफ्नो कुनै ठूलो महत्वकांक्षा नरहेको पनि बताउनुभयो । ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भावुक सम्बोधन गर्दै भन्नुभयो, ‘आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’ उहाँले यी भनाइलाई आदर्श मानेर समर्पित बनिरहेको भन्दै उहाँले भन्नुभएको छ, ‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन् ।’