बजेट यथार्तपरक र सन्तुलित : मन्त्री मगर

विराटनगर २ असार । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ल्याईएको बजेट यथार्तपरक र सन्तुलित रहेको बताउनु भएको छ ।
कोशी प्रदेश सरकारले आईतबार प्रदेशसभामा पेश भएको बजेटबारे मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले वजेट यथार्तपरक र सन्तुलित रहेको बताउनु भएको हो ।

पत्रकार सम्मेलनमा मन्त्री मगरले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले कृषि, स्वास्थ्य, सडक पूर्वाधार, सिंचाई तथा उर्जा, सवारी लाईसेन्स, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा नयाँ–नयाँ कार्यक्रम ल्याईएको बताउनुभयो । उहाँले २०८२ पर्यटन वर्षको रुपमा रहेको र हालसालै भएको लगानी सम्मेलनमा निजी क्षेत्रको उत्साहलाई मध्यनजर गरि उद्योग स्थापना, रुग्ण उद्योगलाई पुर्नजीवन र पर्यटन प्रवद्र्धनलाई सहयोग पुग्नेगरि प्रदेशले संकलन गर्ने राजश्वमा विभिन्न खाले छुटको व्यवस्था गरिएको मन्त्री मगरले बताउनुभयो ।

मन्त्री मगरले आगामी वर्षमा प्रदेश सरकारले प्रस्ताव गरेको सुधारबाट आन्तरिक राजश्व बृद्धि भई ५ अर्ब ५० करोड पुग्ने अनुमान रहेको उहाँले बताउनुभयो । बजेटले प्रस्ताव गरेको कार्यक्रम तथा सुधारबाट प्रदेशको विकासमा सहयोग पुग्ने विश्वास लिईएको मन्त्री मगरको भनाई छ ।

प्रदेश सरकारले आगामी वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । बजेटमा प्रदेश सरकारको आन्तरिक राजश्वबाट ५ अर्ब ५० करोड, राजश्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट ३९ करोड, १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरि राजश्व तथा वित्तीय हस्तान्तरणबाट गरि ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट प्राप्तहुने रकमबाट ३५ करोड ६ लाख खर्च गरिने र बाँकी अपुग रकम ३ अर्ब १३ करोड नगद मौज्दातबाट व्होरिने उल्लेख छ ।