जिल्ला अस्पताल धनकुटा मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिने

विराटनगर १२ जेठ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला अस्पताल धनकुटा मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गर्ने नीतिगत निर्णय गरेको छ ।

बैठकले खोटाङ जिल्ला अस्पतालको हालको १५ सैय्यालाई बढाएर ५० सैय्यामा विस्तार गर्ने निर्णय पनि गरेको छ। यो प्रकृया आजबाट नै सुरु भएको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरूको व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई प्रदेश सरकारको राजनीतिक तथा प्रशासनिक समितिमा अध्ययनका लागि पठाउने निर्णय गरिएको र समितिबाट राय आएपछि मात्र स्वीकृत गर्ने बैठकले निर्णय गरेको मन्त्री भण्डारीले बताउनुभयो ।

७ औँ तहका कर्मचारीको बढुवा सम्बन्धमा उच्च अदालत विराटनगरको फैसलाका कारण उत्पन्न प्रश्नहरूको जवाफ प्रदेश लोक सेवा आयोगमा पठाउने समेत निर्णय भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०८२ स्वीकृत भएको मन्त्री भण्डारीले जानकारी दिनुभयो । मन्त्री भण्डारीका अनुसार यो निर्देशिकाबाट परीक्षा प्रक्रिया थप पारदर्शी, मर्यादित र नागरिकमैत्री हुने छ।

विशेषतः प्रदेशभर सञ्चालनमा रहेका तीनपांग्रे सिटिरिक्साका चालकहरूलाई अनुमतिपत्र पाउन सहज हुने उहाँले बताउनुभयो ।

सिचाइ मन्त्रालय अन्तर्गत ताप्लेजुङको धुन्सा खोला सिचाइ आयोजनामा प्रदेश सरकारले “जनताको लगानी” शीर्षक अन्तर्गत ५ प्रतिशत लगानी गर्ने स्वीकृति दिएको छ। जनस्वास्थ्य नीतिसम्बन्धी प्रस्तावलाई सम्बन्धित विषयगत समितिमा अध्ययनका लागि पठाउने निर्णय भएको छ। अध्ययनपछि नीति मन्त्रिपरिषद्बाट स्वीकृत गरिनेछ।